काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि चीन सरकारले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप आज नेपाल आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई-२० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
पहिचान प्रक्रियामा सहयोग गर्न चिनियाँ फरेन्सिक विज्ञहरूको टोली पनि आएको छ ।
चीनले उपलब्ध गराएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री छन् ।
यसपटकको राहत सामग्रीमा विपद् उद्धार, आवतजावत सहज बनाउन तथा पुनर्स्थापना लागि आवश्यक बेलीब्रिजसमेत समावेश गरिएको छ । चीनबाट पहिलो चरणमा उपलब्ध गराइने बेलीब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ।
चौंथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ नेपाल आएका छन् । उनीहरूले नेपाली निकायसँग समन्वय गरी शवको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछन् ।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए ।




प्रतिक्रिया