काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभामा भोटेकोशी बाढी नेपालको कारणले सिर्जित नभएको दाबी गर्दैै जलवायु न्याय र क्षतिपूर्तिसम्बन्धी माग गरिएको छ । आजको बैठकमा भाग लिँदै सांसदहरूले नेपालले बेहोर्नुपरेको क्षतिसम्बन्धी विषय अन्तरराष्ट्रिय मञ्चमा सरकारले उठाउनुपर्नेमा जोड दिएका हुन् ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु न्याय र अन्तरराष्ट्रिय क्षतिपूर्तिका लागि सरकारले अन्तरराष्ट्रिय समुदायसँग पहलकदमी लिनुपर्ने बताए । “अन्तरराष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनको कारणले भएको क्षति र नोक्सानीका बारेमा आवाज उठाउनुपर्ने बेला भइसकेको छ,” उनले भने, “भोटेकोशी बाढी नेपालले निम्त्याइएको होइन । नगरेको गल्तीको मूल्य हामीले किन चुकाउने ?”
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जलवायु न्यायका बारेमा पनि अन्तरराष्ट्रिय क्षेत्रमा आवाज उठाउनुपर्ने बताए । “विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य छ तर हामीले नगरेको अपराधको सजाय भोगिरहेका छौँ,” उनले भने, “सरकारले राहत होइन, क्षतिपूर्ति चाहिन्छ भनेर दाबी गर्नुपर्छ ।”
नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले भोटेकोशी बाढीबाट नेपालले ठूलो आर्थिक क्षति बेहोर्नुपरेकाले पुनःपूर्ति गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए । “सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्त हुने सम्भावना अत्यन्त न्यून छ,” उनले भने, “भोटेकोशीमा र बूढीगण्डकीमा गएको बाढीका कारणले पृथ्वीराजमार्गअन्तर्गतको कृष्णभीर लगायतका स्थानमा सडकमा ठूलो क्षति भएको छ ।”




प्रतिक्रिया