भोटेकोशी बाढीमा बेपत्ता पत्रकार ढुङ्गाना दम्पतीको दाहसंस्कार


भक्तपुर । यही भदौ ९ गते घरबाट कैलाश मानसरोवर यात्राका लागि निस्किएर भदौ १० गते रसुवा भोटेकोशीको बाढीमा बेपत्ता हुनु भएका चाँगुनारायण–९ ताथली निवासी ५२ वर्षीय पत्रकार शेखर ढुङ्गाना र उनकी ४६ वर्षीया पत्नी निर्मला ढुङ्गानाको अन्त्येष्टि गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका सदस्य एवं नेपाल प्रेस युनियनका सदस्य ढुङ्गाना दम्पती कैलाश मानसरोवर यात्राका क्रममा यही भदौ १० गते आफ्ना सासुससुरासमेत १७ सदस्यीय टोली रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा बिहान ८ः१६ बजे नाम दर्ता गरी चीन प्रवेश गर्ने तयारीमा रहेकै बेलामा आएको विनाशकारी बाढीको चपेटामा परी बेपत्ता भएका थिए ।

बेपत्ता भएलगत्तै मानसरोवार यात्रामा लैजाने ट्राभल्सलगायत विभिन्न निकायबाट खोजी कार्य हुँदा पनि नभेटिएपछि परिवारले ढुङ्गाना दम्पतीको कुशको शव बनाएर हिन्दू परम्पराअनुसार दाहसंस्कार सम्पन्न गरेको हो । पत्रकार ढुङ्गानाको आमा र दुई छोरा छन् ।