काठमाडौं, भदौ १९ । लगातारको वर्षाका कारण पहिरो तथा बाढी आउँदा विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न सडकमा अवरोध देखिएको हो।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्डमा अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेमा सम्भावित बाढीका कारण बीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सवारी साधनलाई अवस्थाअनुसार नियन्त्रण गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टे क्षेत्रमा बाढीका कारण त्रिशूली–मेलुङस्याफ्रुबेंसी सडकखण्ड प्रभावित भएको छ। रसुवाकै मुख्य राजमार्गमा समेत यातायात पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
नुवाकोटमा बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड र पासाङल्हामु सडकखण्ड प्रभावित भएका छन्। केही क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको तथा केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
धादिङमा पृथ्वी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो गएको छ। बेनीघाट रोराङ गाउँपालिका–७ तथा गजुरी गाउँपालिका क्षेत्रमा पहिरोका कारण यातायात प्रभावित भए पनि केही स्थानमा सानो गाडी मात्र तथा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
यसैगरी, कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ ताल्चा क्षेत्रमा पहिरोका कारण मुगु–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेशका रोल्पा र अर्घाखाँचीमा पनि पहिरोका कारण सडक अवरुद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका क्षेत्रमा शहीदमार्ग तथा घोराही–थवाङ सडकखण्ड र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ क्षेत्रमा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रु तथा चालकलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।




प्रतिक्रिया