काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेला नागरिकका हकहित, सुशासन र उत्तरदायी शासनका लागि सबैले आ–आफ्नो ठाउँबाट इमानदार कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् ।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले वर्तमान परिस्थितिमा अन्याय र असत्यविरुद्ध लड्दै न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर कर्म गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भगवान् श्रीकृष्णले दिनुभएको स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने सन्देश आजको परिस्थितिमा झनै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भएको भन्दै आङदेम्बेले विविधतालाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव, करुणा र मैत्रीभाव कायम गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
‘वर्तमानमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बेला नागरिकका हकहित, सुशासन र उत्तरदायी शासनका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट इमानदार कर्तव्य पूरा गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्वले अन्याय र असत्यविरुद्ध लड्दै न्यायपूर्ण समाज निर्माणका लागि निरन्तर कर्म गरिरहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उनले धार्मिक तथा सांस्कृतिक पर्वहरूले नेपालीबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया