बैंकक । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र अन्य आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आज प्रधानमन्त्री कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई उक्त सहायता हस्तान्तरण गरेका छन्।
नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले समयमै पुर्याएको मानवीय सहायताका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। यो उदार सहयोगले नेपाल र थाइल्यान्डबिचको दीर्घकालीन मित्रता, एकजुटता र घनिष्ठ सम्बन्धलाई झल्काएको उनले बताएका छन्।
थाइल्यान्ड सरकारले नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ। राहत सामग्रीहरू पनि यथाशीघ्र नेपाल पठाउने जनाइएको छ।




प्रतिक्रिया