काठमाडौ । लाङटाङको उत्तरी भेगबाट खसेको हिमचट्टानका कारण बनेका तालमध्ये माथिल्लो तालमा पानीको सतह केही बढे पनि तत्काल जोखिमपूर्ण अवस्था नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ टोलीले नेपाली पक्षलाई दिएको पछिल्लो जानकारीअनुसार माथिल्लो तालमा पानीको मात्रा बढिरहेको भए पनि अहिलेसम्म खतराको तहमा पुगेको छैन।
हिमचट्टान खसेपछि लाङटाङ क्षेत्रमा दुईवटा ताल बनेका थिए। चिनियाँ टोलीले ल्हेन्दे खोलाको माथिल्लो भागमा बनेको ताललाई ‘ब्यारियर लेक–टु’ र खोलाछेउको तल्लो ताललाई ‘ब्यारियर लेक–वान’ नाम दिएको छ। पराजुलीका अनुसार तल्लो भागमा बनेको तालबाट लगभग सबै पानी बगिसकेकाले अहिले त्यहाँ पानी जम्मा भएको छैन।
‘तल्लो भागको तालबाट लगभग सबै पानी बगेकाले पानी जम्मा भएको छैन र खासै समस्या छैन भन्ने कुरा आएको छ,’ उनले भने, ‘माथिल्लो तालमा भने पानीको सतह केही बढेको छ, तर पछि खतराको तहमा पुगेको छैन भन्ने कुरा आएको छ।’
चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला आसपासको नेपाली भूभागको अवस्थासमेत निगरानी गरिरहेको छ। सोही क्रममा तालको पानीको सतह र अवस्थाबारे नेपाली पक्षलाई नियमित जानकारी पठाइरहेको पराजुलीले बताए।
उनका अनुसार माथिल्लो तालको क्षेत्रफल करिब ०.१९ वर्गकिलोमिटर रहेको छ। पानीको सतह करिब दुई मिटर बढ्दा उक्त तालमा करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। ‘चिनियाँ टोलीले तालका बारेमा निरन्तर सूचना पठाइरहेका छन्। अहिलेसम्मको अवस्थामा तालको पानीबाट जोखिम छैन भन्ने नै उनीहरूको सुझाव छ,’ पराजुलीले बताए।
गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि लाङटाङ हिमालको उत्तरी भागमा नेपाल–चीन सीमाना नजिकै हिमचट्टान खसेर दुईवटा ताल बनेका थिए। बाढी आएको करिब चार दिनपछि तीमध्ये तल्लो भागमा बनेको ताल फुटेर ठूलो परिमाणमा पानी बगेपछि भोटेकोशी नदीमा थप बाढी आएको थियो। त्यसपछि तल्लो ताल रित्तिएको र हाल माथिल्लो तालको अवस्था भने चिनियाँ टोलीको निगरानीमा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले तालको पानीका कारण तत्काल जोखिम नरहेको बताए पनि चिनियाँ टोलीसँगको समन्वयमा अवस्थाको निरन्तर निगरानी भइरहेको जनाएको छ।




प्रतिक्रिया