काठमाडौँ। प्रत्येक वर्ष भदाै कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले देशभर भगवान् श्रीकृष्णको विधिअनुसार पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन्।
श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम रहने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा वासुदेव र देवकीको पुत्रका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ।
जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठुलो मेला लागेको छ। प्राचीनकालदेखि नै पाटनको कृष्णमन्दिरमा भक्तजनको ठुलो उपस्थिति रहने गर्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ।
उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा अवस्थित कृष्णमन्दिरमा पनि भक्तजनको भिड लागेको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा तथा रथयात्रा भने भाद्र कृष्ण नवमीका दिन निकाल्ने गरिन्छ।
अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा नवमीका दिन रथयात्रा निकाल्ने गरिएको हो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।
बाल्यकालदेखि आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कङ्श, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको महाभारतलगायत शास्त्रीय र पौराणिक ग्रन्थमा उल्लेख छ। धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ।
घरघरमा बालबालिकालाई श्रीकृष्णको स्वरुपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । विद्यालयले पनि बालबालिकालाई श्रीकृष्ण र राधाका रुपमा सिँगारेर यो सांस्कृतिक पर्व मनाउँछन्। आज दिनभर व्रत गरेका भक्तजन रातिमा भने जाग्राम बसेर श्रीकृष्णको स्वागत गर्छन् । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको थियो।
यसै अवसरमा आज वैदिक उद्बोधन सङ्घले आयोजना गरेको कार्यक्रममा स्वामी श्याम चेतन बाबाले श्रीकृष्ण तत्वलाई बुझेर त्यसलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। श्रीकृष्ण तत्व बुझ्न गीताको अध्ययन एवं साधना गरी त्यसलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जाेड दिए।




प्रतिक्रिया