माथिल्लो त्रिशूली-१ मा भेटिए ६ शव


काठमाडौं, भदौ २० । बाढीले ठूलो क्षति पुर्‍याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रबाट थप छ जनाको शव फेला परेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार खोजीका क्रममा सल्लेटार क्षेत्रबाट ६ जनाको शव फेला पारिएको छ। पहिचान खुल्न नसक्ने र निकै क्षतविक्षत अवस्थामा रहेका ती शवहरूलाई नेपाली सेनाको टोलीले बट्टार पुर्‍याएको छ।

शुक्रबार दिनभर आयोजनाको हेडवर्क्स तथा सुरुङ क्षेत्रमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन कोरियाली प्राविधिक टोली, शेर्पा, सर्च तथा ड्रोन टोलीसहित विशेष क्यामेरा र तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ।

कम्पनीका अनुसार सुरुङभित्र जमेको पानी बाहिर फाल्न निरन्तर ‘वाटर पम्प’ चलाइएको छ भने १५ वटा ठूला उद्धार मेसिन तथा उपकरणहरू आयोजना स्थल पुर्‍याइएको छ। शनिबारदेखि उद्धार कार्यलाई अझ तीव्र बनाउने प्रवर्द्धक कम्पनीले जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा कूल १ हजार ४३३ जना श्रमिक तथा कर्मचारी कार्यरत थिए। जसमध्ये हालसम्म ८७६ जनाको सकुशल उद्धार गरिएको छ भने ५५१ जना अझै सम्पर्कविहीन रहेका छन्।