आज केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं, भदौ २० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ। तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ। राति सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।