काठमाडौं, भदौ २० । लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा प्रभावित भएको छ।
बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। काभ्रेमा सम्भावित बाढीका कारण केही सडकमा निश्चित समय सवारी सञ्चालन गर्ने र रातिको समयमा रोक लगाउने व्यवस्था गरिएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा पहिरोका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रको टोखा–छहरे सडकखण्डमा समेत बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा पर्ने पृथ्वी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण कतै पूर्ण अवरोध र कतै एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको मुगुस्थित छायानाथ रारा नगरपालिका–४, ताल्चामा पहिरोका कारण मुगु–गमगढी सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।
लुम्बिनी प्रदेशमा रोल्पा र अर्घाखाँचीका विभिन्न सडकखण्डमा पहिरोका कारण यातायात बन्द भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका क्षेत्रका घोराही–थवाङ शहीदमार्ग तथा शहीदमार्गका खण्ड प्रभावित छन् भने अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, बालासिद्ध मन्दिर क्षेत्रमा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुदूरपश्चिम प्रदेशको बझाङस्थित बित्थडचिर गाउँपालिका–१ क्षेत्रमा पनि पहिरोका कारण जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका सडकमा यात्रा गर्दा सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।




प्रतिक्रिया