काठमाडौं – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न माग गरिएको छ। त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सम्बन्धमा गरेको छानबिन प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने माग संगठनले अघि सारेको छ।
आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै मुभमेन्टले आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसा तथा मुठभेडतर्फ धकेल्ने, हिंसा भड्काउने वा राज्य र नागरिकबीच द्वन्द्व सिर्जना गर्ने कार्यमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
त्यसैगरी, भदौ २४ गते भएका आगजनी, तोडफोड, हिंसा तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिबारे निष्पक्ष अनुसन्धान गरी दोषी प्रमाणित भएकामाथि कानुनी कारबाही गर्नुपर्ने उसको माग छ।
जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका तर कुनै गम्भीर अपराधमा संलग्न नभएका नागरिक तथा युवाहरूलाई तत्काल रिहा गर्न पनि मुभमेन्टले माग गरेको छ। दोषी र निर्दोष छुट्याउने आधार निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षण हुनुपर्ने भन्दै सामूहिक दण्ड तथा प्रतिशोध स्वीकार्य नहुने उसले स्पष्ट पारेको छ।
सरकार र संसद्लाई कडा चेतावनी
प्रेस वक्तव्यमा सरकार र प्रतिनिधिसभालाई पनि कडा सन्देश दिइएको छ। जनविश्वास कमजोर हुँदै गएको र आफ्नो औचित्यमाथि प्रश्न उठिरहेको प्रतिनिधिसभा तथा असफलताको बाटोतर्फ अघि बढिरहेको सरकार समयमै ‘सही ट्र्याकमा फर्किनुपर्ने’ हमालको भनाइ छ।
‘सत्ता जनताको सेवाका लागि हो, जनताको आवाज दबाउनका लागि होइन’ भन्दै उनले जेनजी आन्दोलनले उठाएका प्रश्न, शहीदहरूको बलिदान र नागरिकका अपेक्षालाई बेवास्ता गरिए लोकतान्त्रिक संस्थाप्रतिको विश्वास थप संकटमा पर्ने चेतावनी दिएका छन्।
हमालले सरकारलाई जनताको आवाज सुन्न, जेनजी आन्दोलनको मर्म बुझ्न, दोषीमाथि कारबाही गर्न, निर्दोषलाई रिहा गर्न तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।
सरकार परिवर्तन हुँदैमा आन्दोलनको उद्देश्य समाप्त भएको ठान्नु गम्भीर भूल हुने उनको भनाइ छ। आन्दोलन कुनै व्यक्ति वा दलविरुद्ध नभई अन्याय, दण्डहीनता, भ्रष्टाचार, अपारदर्शिता र नागरिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध भएको उनले बताएका छन्।
देशभर दीप प्रज्ज्वलनको आह्वान
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भदौ २३ गते काठमाडौंको बानेश्वरमा शहीद परिवार तथा घाइतेहरूको सहभागितामा हुने कार्यक्रममा हजारौँ युवा तथा नागरिक सहभागी हुन उसले अपिल गरेको छ।
त्यस्तै, देशभरका जिल्ला सदरमुकाम तथा विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरी आन्दोलनका शहीदहरूको स्मरण गर्न र आन्दोलनको मर्म अझै जीवित रहेको सन्देश दिन पनि आह्वान गरिएको छ।
मुभमेन्टले आफूहरूको संघर्ष शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट निरन्तर अघि बढ्ने जनाएको छ। ‘एक वर्ष बितेको छ, तर प्रश्नहरू बाँकी छन्; शहीदहरू सम्झनामा छन्, तर न्याय अझै बाँकी छ,’ वक्तव्यमा भनिएको छ।




प्रतिक्रिया