काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले कांग्रेसको पूरा ध्यान अब आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीले हालै भव्यरूपमा महाधिवेशन सम्पन्न गरेकाले अब देशको विकास र नागरिकलाई सम्मानित बनाउने अभियानमा कांग्रेस लाग्ने स्पष्ट पारे।
ूहामीले विगतका कमी-कमजोरीबाट शिक्षा लिएर आगामी दिनको यात्रा तय गर्नेछौँ,’ सहमहामन्त्री शिवाकोटीले भने, ‘हाम्रो ध्यान सरकार ढाल्ने खेलमा छैन, आगामी निर्वाचनमा प्रदेश र स्थानीय तहमा पार्टीलाई सशक्त बनाउन केन्द्रित हुनेछौँ।’
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले दुई तिहाइको सरकार बने पनि देशमा शान्ति र स्थायित्वको अनुभूति हुन नसकेको दाबी गरे। हिजो आम नागरिकमा रहेको आक्रोशलाई तत्कालीन नेतृत्वले समयमै नबुझ्दा जेनजी आन्दोलनको स्थिति बनेको स्मरण गराउँदै उनले वर्तमान सत्तारुढ दल रास्वपा र सरकार पनि प्रश्नबाट भाग्न नमिल्ने बताए।
ूहिजो जनतालाई ठूला सपना देखाएर सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले सोहीअनुसार काम गर्न सकेको छैन,’ उनले भने, ‘सरकारमा पुगेपछि राम्रोसँग काम गर्न नसक्दा बालेन सरकारप्रति आक्रोश पैदा हुन थालिसकेको छ।’
अहिले प्रश्न गर्ने कलम र आवाज उठाउने मुख बन्द गराउने प्रयास भइरहेको आरोप लगाउँदै शिवाकोटीले रास्वपालाई हिजो जनतालाई देखाएका सपना पूरा गर्न आग्रह गरे। कांग्रेसले सदन, सामाजिक फोरम र मिडियामार्फत रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सरकारका सही कामको समर्थन र गलत कामको खबरदारी निरन्तर जारी राख्ने बताए।




प्रतिक्रिया