जेनजी शहीदलाई सम्झिँदै धमलाले सरकारलाई सोधे– ‘भ्रष्टाचारीलाई कारबाही खोइ?’


काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले जेनजी आन्दोलनका माग र भावनाअनुसार सरकारले काम गर्नुपर्ने बताएका छन्। नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा आज जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले आजको दिनलाई ऐतिहासिक दिनको संज्ञा दिए । उनले भने, ‘आज ऐतिहासिक दिन हो, यो देशले जितेको दिन हो।´

उनले जेनजी आन्दोलनले उठाएको मुख्य मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिता भएको भन्दै सरकारले ती विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री सुधन गुरुङलाई धमलाले जेनजी आन्दोलनको भावना अनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि अझै कारबाही नगरेको गुनासो गरे।

धमलाले गृहमन्त्री गुरुङलाई जेनजी आन्दोलनको भावना र नेतृत्वसँग जोड्दै भने, ‘जेनजीको नेता गृहमन्त्री सुधन गुरुङ हो। जेनजी आन्दोलनको नेतृत्व सुधन गुरुङले नै गर्नुभएको हो।’

देशले अहिले विकास र सुशासन खोजिरहेको धमलाले बताए । उनले गृहमन्त्री गुरुङले २०८२ भदौ २५ गते रिपोर्टर्स क्लबमा पुगेर भ्रष्टाचारीलाई एक–एक गर्दै थुन्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै भने, ‘तपाईं काम गर्ने मन्त्री हुनुहुन्छ। जेनजीको माग पूरा गर्नुपर्यो ।’

धमलाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारले काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए। ‘रास्वपा नेतृत्वको सरकार पाँच वर्ष चल्छ । यो सरकारले काम गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।

उनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारलाई पनि सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए। घाइतेहरूको उपचार नेपालमै सम्भव नभए विदेश लगेर भए पनि सरकारले उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। कानुनी अड्चन भए कानुन संशोधन गरेर भए पनि घाइतेको उपचार सुनिश्चित गर्न उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलाई आग्रह गरे।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन आज देशभर ‘जेनजी शहीद दिवस’ मनाइएको छ। सरकारले यस अवसरमा सार्वजनिक बिदासमेत दिएको छ।

२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनमा ठूलो मानवीय क्षति भएको थियो।