काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। आपत्कालीन अवस्थामा सञ्चार सञ्जाल अवरुद्ध हुँदासमेत सम्पर्कविच्छेद नहोस् भन्ने उद्देश्यले कम्पनीले युटेलस्याटको ‘लो अर्थ अर्बिट’ (LEO) स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा सुरु गरेको हो।
उद्धार, राहत र पुनर्स्थापना कार्यमा संलग्न सरकारी निकायहरूसँगको समन्वयमा एनसेलले आवश्यक स्थानहरू पहिचान गरी उपकरण जडान गरिरहेको छ। यसै क्रममा सडक तथा सञ्चार पूर्वाधार गम्भीररूपमा प्रभावित भएको नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा सञ्चालनमा आइसकेको छ भने अन्य बाढीप्रभावित क्षेत्रहरूमा जडान कार्य जारी छ। बाढीप्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर र आपत्कालीन कार्यस्थलमा यो प्रविधिमार्फत हाल निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको छ।
यस प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट सिधै इन्टरनेट सिग्नल प्राप्त गर्छ र वरपरका क्षेत्रमा वाईफाईमार्फत उच्च-गति तथा लो-लेटेन्सी कनेक्टिभिटी उपलब्ध गराउँछ। साधारण टेलिफोन वा मोबाइल सेवा ठप्प भएको अवस्थामा पनि मानिसहरूले यसबाट सन्देश आदानप्रदान, इन्टरनेट-आधारित कल, सूचना पहुँच र राहत कार्यको समन्वय गर्न सक्नेछन्। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायहरूबाट यसका लागि आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ।
“हामीले सडक पूर्वाधार र सञ्चारसेवा गम्भीररूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ। यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,” एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले भने।
विपद्को पहिलो दिनदेखि नै एनसेलले बाढीप्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकहरूलाई दैनिक रूपमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ। यसबाहेक, कम्पनीले एनसेल फाउन्डेसनमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध गराएको छ।
सडक अवरुद्ध र फाइबर क्षति भई सञ्चार सम्पर्कविच्छेद भएको अवस्थामा कनेक्टिभिटी सुविधा मात्र नभई ‘लाइफलाइन’ भएको उल्लेख गर्दै एनसेलले आपत्कालीन समयमा सबैलाई सम्पर्कमा राख्न र नागरिकको साथमा उभिन आफू प्रतिबद्ध रहेको जनाएको छ।





प्रतिक्रिया