ग्यास वितरणमा नयाँ नियम: जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर भरिएको ग्यास पाइने


काठमाडौ । हालै आएको बाढीका कारण एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले काठमाडौं उपत्यकामा ग्यास वितरण सहज बनाउन अस्थायी व्यवस्था लागू गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा सम्बन्धित निकाय तथा ग्यास उद्योगका प्रतिनिधिसँग छलफल गरेपछि यस्तो व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा लिन सक्नेछन्। बजारमा आफूले प्रयोग गर्ने ब्रान्डको ग्यास उपलब्ध नभएमा उपभोक्ताले उपलब्ध जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास खरिद गर्न सक्नेछन्।

बाढीका कारण ढुवानी तथा वितरण प्रणालीमा अवरोध आएपछि उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको थियो। उपभोक्तालाई तत्काल राहत दिन यस्तो अस्थायी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्। साथै, आपूर्ति संकटको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा सरकारी निर्देशन अवज्ञा गर्ने व्यवसायी तथा उद्योगमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

सरकारले अस्थायी व्यवस्थाबाट बाढीका कारण उत्पन्न आपूर्ति समस्या कम हुने र उपभोक्ताले सहज रूपमा एलपी ग्यास प्राप्त गर्ने अपेक्षा गरेको छ।