इसिबीको ब्याजदर बढाउने तयारी


पेरिस, २४ भदौ । ऊर्जाको मूल्यवृद्धिबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक (इसिबी) ले प्रमुख ब्याजदर बढाउने तयारी गरेको छ । बुधबारदेखि सुरु हुने दुईदिने बैठकपछि निक्षेप दरमा चौथाइ प्रतिशत विन्दुले वृद्धि गरी करिब २.५ प्रतिशत पु¥याउने अपेक्षा गरिएको छ ।

ब्याजदर बढेपछि घरपरिवार र कम्पनीका लागि धितो तथा अन्य ऋण महँगो हुने भएकाले उपभोग र लगानी घट्न सक्छ । यसबाट आर्थिक गतिविधि सुस्त भई मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्नेछ । तर इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यजस्तो बाह्य दबाबलाई भने ब्याजदर वृद्धिले प्रत्यक्ष नियन्त्रण गर्न सक्दैन ।

पिक्टेट वेल्थ म्यानेजमेन्टका रणनीति तथा समष्टिगत अनुसन्धान प्रमुख फ्रेडरिक डुक्रोजेटले उच्च ब्याजदरले नयाँ ऋण लिने वा पुरानो ऋण पुनर्वित्त गर्नेहरूको खर्च गर्ने क्षमता घटाउने बताए । उनका अनुसार इन्धनको मूल्यवृद्धिबाट उत्पन्न मुद्रास्फीतिले तलबलगायत क्षेत्रमा समेत प्रभाव पार्ने जोखिमका कारण इसिबी दबाबमा छ ।

उच्च ब्याजदरले ऋणमा निर्भर युरोपेली सरकारको खर्चसमेत बढाउनेछ । विशेषगरी उच्च सार्वजनिक ऋण र बजेट घाटा भएका मुलुकलाई नयाँ ऋण जुटाउन महँगो पर्नेछ । अर्कोतर्फ, मुद्रास्फीति नियन्त्रणमा रहेमा बचतकर्ता, बन्ड लगानीकर्ता, बिमा कम्पनी तथा ब्याङ्कले बढी प्रतिफल पाउन सक्नेछन् ।

अमेरिकी फेडरल रिजर्भसमेत मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यमा ल्याउन मौद्रिक नीति कडा पार्ने दबाबमा छ । सरकारी बन्डको प्रतिफल बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउन दबाब दिँदै आएको छ ।

इसिबीको सम्भावित ब्याजदर वृद्धिले मुद्रास्फीति नियन्त्रणमा सहयोग पु¥याउने भए पनि ऋणी, व्यवसाय र उच्च सार्वजनिक ऋण भएका सरकारमाथि थप आर्थिक भार पर्ने देखिएको छ । रासस