अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान


वासिङ्टन, १० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ ।

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ । सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदैछ । अहिले रिपब्लिकनसँग ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट छन् । सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ ।

मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन् । पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो । ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ । एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशतले उनका नीतिले अर्थतन्त्रलाई हानि पुर्‍याएको र २६ प्रतिशतले सहयोग गरेको बताएका थिए ।

विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टले यस निर्वाचन चक्रमा विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ । काइनेटिक पोलिटिकल इनसाइट्सको अनुमान ११ अर्ब ९६ करोड डलर छ । सन् २०२२ को मध्यावधि निर्वाचनमा आठ अर्ब ९० करोड डलर खर्च भएको थियो । क्यालिफोर्नियाको गभर्नर पदको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड डलर विज्ञापनमा खर्च भएको थियो ।

यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए । प्रतिनिधिसभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः भिड्दैछन् । राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा देशभर यस्ता पुनः प्रतिस्पर्धा ४७४ पुगेका छन् । रासस