बाढी प्रभावित नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?-रास्वपा महामन्त्री


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गत वर्ष भदौ २४, २०८२ को आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले क्षतिग्रस्त संरचनाहरू छोटो समयमै पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइसकेको भए पनि राज्यका महत्वपूर्ण संरचनाहरू अझै उस्तै अवस्थामा रहेको बताए ।

उनले आफू नियमित रूपमा महाराजगञ्ज र नक्सालस्थित भाटभटेनी हुँदै सिंहदरबार आउने गरेको उल्लेख गर्दै भदौ २४ गतेको घटनामा क्षतिग्रस्त व्यापारिक केन्द्रहरू पुनःनिर्माण भइसकेको बताए ।

‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ आचार्यले भने ।

तर, सिंहदरबार प्रवेश गर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै बेवारिसे अवस्थामा देखिने गरेको उनको भनाइ छ । नयाँ संसद् भवनमा बजेट अधिवेशन सञ्चालन गर्ने भनिए पनि अझै अस्थायी भवनबाटै सांसदहरूले आफ्ना धारणा राख्नुपरेको उनले बताए ।

आचार्यले राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माणको गति सुस्त रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न गरे ।

‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्को निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।

गत वर्ष भदौ २४ गते भएको तोडफोड तथा आगजनीका क्रममा नक्सालस्थित भाटभटेनीसमेत क्षतिग्रस्त भएको थियो । निजी क्षेत्रले उक्त संरचनाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेको अवस्थालाई उदाहरण दिँदै आचार्यले सरकारी तथा सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।