काठमाडौं । नेपाली कांग्रेसले पार्टीलाई नतिजामुखी र जनउत्तरदायी बनाउन केन्द्रीय सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने भएको छ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले सदस्यहरूको रुचि र दक्षताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो ।
सभापति गगन थापाको निर्देशनअनुसार केन्द्रीय सदस्यहरूलाई आफ्नो रुचिका कम्तीमा चार वटा कार्यक्षेत्र प्राथमिकताका आधारमा छनोट गर्न फारम उपलब्ध गराइनेछ । सोही आधारमा जिम्मेवारी तोकिनेछ भने प्रत्येक चार महिनामा कार्ययोजना र कार्यसम्पादनको समीक्षा गरिनेछ । तिहारपछि बस्ने बैठकमा सबै सदस्यले कार्ययोजनासहित उपस्थित हुनुपर्नेछ ।
यसैगरी, मुलुकका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन कांग्रेसले यस वर्ष केन्द्रदेखि जिल्लासम्म चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ । औपचारिक कार्यक्रममा खर्च गर्नुको सट्टा चाडपर्वका अवसरमा सार्वजनिक स्थलको सरसफाइ गर्ने, राहत कोष स्थापना गर्ने र विपद् प्रभावितलाई सहयोग गर्ने कार्यमा जुट्न पार्टीका तल्ला तहका समितिहरूलाई निर्देशन दिइएको छ ।
बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने केन्द्रीय निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी, शुभेच्छुक तथा पार्टी कार्यकर्तालाई धन्यवाद दिएको छ ।




प्रतिक्रिया