काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गत वर्ष भदौ २४ गते भएको आन्दोलनलाई ‘विध्वंस’को संज्ञा दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणबारे धारणा राख्ने क्रममा उक्त दिनको घटनालाई ‘विध्वंस’ भनेका हुन् ।
उनले आफू नियमित रूपमा महाराजगञ्ज र नक्सालस्थित भाटभटेनी हुँदै सिंहदरबार आउने गरेको उल्लेख गर्दै भदौ २४ गतेको घटनामा क्षतिग्रस्त व्यापारिक केन्द्रहरू पुनःनिर्माण भइसकेको बताए ।
‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ आचार्यले भने ।
तर, सिंहदरबार प्रवेश गर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै बेवारिसे अवस्थामा देखिने गरेको उनको भनाइ छ । नयाँ संसद् भवनमा बजेट अधिवेशन सञ्चालन गर्ने भनिए पनि अझै अस्थायी भवनबाटै सांसदहरूले आफ्ना धारणा राख्नुपरेको उनले बताए ।
आचार्यले राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माणको गति सुस्त रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न गरे ।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्को निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।




प्रतिक्रिया