काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकारले संविधानको मर्मविपरीत काम गरिरहेको भन्दै प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयप्रति चर्को आक्रोश व्यक्त गरे ।
‘संविधानअनुसार सरकार चलिरहेको छैन । हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ । चुनावी मैदानमा जाँदा हामी संविधान बदल्छौँ भनेका थिएनौँ,’ सिंहले भने ।
उनले सरकारमाथि गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भइरहेको आरोपसमेत लगाए ।
सिंहले प्रधानमन्त्री संसद् र सांसदहरूप्रति उत्तरदायी हुनुपर्ने बताए । नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा कार्यकारी अधिकार रहे पनि अहिले प्रधानमन्त्रीको शासन प्रणाली नै सल्लाहकारकेन्द्रित भएको उनको आरोप थियो ।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन,’ उनले भने ।
प्रधानमन्त्री सिंहदरबारमा भन्दा आफ्ना सल्लाहकारमा बढी केन्द्रित भएको आरोप लगाउँदै उनले सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाए ।
‘सरकारको केन्द्र सिंहदरबार हुन्छ मैले बुझेको छु । तर सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ सिंहले भने ।




प्रतिक्रिया