काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई पदबाट हटाउने सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन शाहको तीव्र आलोचना गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले मन्त्री यादवलाई ‘गुन्डा शैली’मा बर्खास्त गरिएको आरोप लगाएका हुन्।
मन्त्री यादवको निवासमा यसअघि नै प्रहरी परिचालन गरिएको प्रसङ्ग उल्लेख गर्दै सिंहले सोही दिन उनले पदबाट राजीनामा नदिएर गल्ती गरेको टिप्पणी गरे। “माननीय गौरीकुमारी यादवले त्यही रात राजीनामा दिनुपर्थ्यो, जुन रात उनको घरमा प्रहरी परिचालन गरिएको थियो,” संसद्मा बोल्दै उनले भने, “यो मन्त्रीको स्वेच्छिक राजीनामा होइन, सोझो अर्थमा बर्खास्ती हो। उहाँ रुँदै मन्त्रालयबाट निस्किएको भिडियो नै यसको स्पष्ट प्रमाण हो।”
प्रधानमन्त्रीसँग मन्त्रीलाई जुनसुकै बेला हटाउन सक्ने संवैधानिक अधिकार भए पनि हटाउने प्रक्रिया र शैली अमर्यादित तथा अपारदर्शी भएको उनको भनाइ थियो।
सांसद सिंहले प्रधानमन्त्री शाहको सचिवालय र समग्र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सचिवालयले मन्त्रीहरूलाई धाकधम्की दिने गरेको दाबी गरे। सचिवालयका गतिविधिबारे गम्भीर खुलासा गर्दै उनले भने, “अहिले शासन सत्ता लोकतान्त्रिक मान्यताभन्दा बाहिर गएर गुन्डा शैलीमा चलिरहेको छ।”
सरकार, प्रधानमन्त्रीको सचिवालय र मन्त्रीहरूको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सांसद सिंहले यही रवैया कायम रहे वर्तमान सरकारको शीघ्र अवसान हुने चेतावनी दिए।




प्रतिक्रिया