काठमाडौं । सामाजिक सञ्जालमार्फत वैश्यागमनको प्रचारप्रसार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका १६ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्। उनलाई आज पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वैश्यागमनको प्रचारप्रसार हुने प्रकृतिको भिडियो पोस्ट गरिएको सूचनाका आधारमा उनको खोजी गरिएको थियो। आरोपीले विभिन्न मूल्यमा ‘केटी मिलाइदिन्छु’ भनेर भिडियो बनाउँदै पोस्ट गरेको भेटिएको छ ।
पक्राउ पर्दा उनले महिलाको जस्तो हुलिया बनाएर हिँडिरहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर वैश्यागमनको प्रचार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।




प्रतिक्रिया