प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनायो : शंकर पोखरेल


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालैको भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका दृष्टिले उपलब्धिविहीन रहेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएको आरोप लगाए । विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको सीमा विवादबारे समेत प्रभावकारी रूपमा कुरा उठाउन नसकेको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ,’ पोखरेलले भने, ‘काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो । हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो । अस्ति उहाँ भारत भ्रमणमा जानुभयो । नेपालको हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन ।’

पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका विवादित सीमा क्षेत्रका विषयमा भ्रमणका क्रममा छलफलसमेत नभएको दाबी गरे । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उनको भनाइ छ ।

त्यस्तै, नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि तत्कालीन एमाले नेतृत्वको सरकारका पालामा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारत तयार नभएको विषयमा पनि प्रधानमन्त्रीले प्रभावकारी पहल गर्न नसकेको उनले आरोप लगाए । उक्त प्रतिवेदन स्वीकार गरी कार्यान्वयनको प्रक्रियामा लैजान आग्रह गर्नुपर्नेमा सरकार चुकेको पोखरेलको टिप्पणी छ ।

पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा समेत प्रधानमन्त्रीको भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको बताए ।

उनका अनुसार विगतमा हवाई रुट उपलब्ध नहुँदा समस्या रहेकोमा अहिले उडानको उचाइसम्बन्धी विषयले थप जटिलता निम्त्याउन सक्ने अवस्था देखिएको छ ।

‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’ उनले भने ।