देउवा समूहले संस्थापनले गरेको निर्णय नमान्ने


काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर विवाद थप चर्किएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय शेरबहादुर देउवा समूहले नमान्ने भएकाे छ।

सोमबार बिहान देउवा निवास चुनदेवीमा बसेको बैठकले पुसमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको कार्यसम्पादन समितिलाई वैधानिकता नदिने निर्णय गरेको हो। समूहले विशेष महाधिवेशन नै अवैधानिक भएको दाबी गर्दै त्यसबाट भएका निर्णय पनि आफूहरूले नमान्ने निष्कर्ष निकालेकाे हाे ।

आइतबार सभापति गगन थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी हुने बाटो खोल्ने निर्णय गरेको थियो। तर देउवा समूहले उक्त निर्णयलाईसमेत अस्वीकार गर्ने भएकाे हाे ।

देउवा समूहका नेता दीपक खड्काका अनुसार आगामी मंसिरमा महाधिवेशन गर्ने गरी असोज १५ गतेदेखि पार्टीका विभिन्न तहका अधिवेशन सुरु गर्ने निर्णय गरेकाे छ। उनका अनुसार एकपक्षीय रूपमा संस्थापन पक्षले घोषणा गरेको असोज १६ देखि १९ गतेसम्मको महाधिवेशनमा सहभागी नहुने समूहको निष्कर्ष छ।

‘विशेष महाधिवेशनबाट आएको समितिले गरेका निर्णय अवैधानिक भएकाले नमान्ने निर्णय भएको छ,’ खड्काले बताए। उनका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित समितिले तय गरेको असोज १५ गतेदेखि सुरु हुने अधिवेशनको कार्यतालिकाअनुसार नै अघि बढ्ने निर्णय गरिएको छ।

बैठकले आगामी महाधिवेशनका लागि आवश्यक निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिलाई गठन तथा पूर्णता दिने निर्णय पनि गरेको छ। देउवा समूहले यसअघि नै निर्वाचन समिति संयोजकमा यगराज पोखरेललाई नियुक्त गरिसकेको छ।

पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले अन्तिम फैसला नआएसम्म त्यसलाई पर्खने र त्यसपछि थप राजनीतिक गतिविधि अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

गत पुसमा तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएपछि कांग्रेसभित्र विवाद कायम छ। देउवा र डा. शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएका छन्।

दुवै समूहले गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई नयाँ केन्द्रीय समितिमा समेट्नुपर्ने माग राख्दै आएका थिए। यीमध्ये माग सम्बोधन भए पनि विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा समूहले संस्थापन पक्षले तय गरेको महाधिवेशन बहिष्कार गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्न देउवा समूहले सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ।