काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोत साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग उपलब्ध स्रोतसाधनका साथै दातृ निकायबाट प्राप्त सहयोगसमेत परिचालन गर्ने तयारी गरिरहेको जानकारी दिए ।
उनले प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले विपद्बाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न तथा जनप्रतिनिधिहरूको मनोबल उच्च राख्न सहयोग पुगेको बताए ।
छलफलका क्रममा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय गरी उद्धार तथा राहतका काम अघि बढाइएको जानकारी गराएका थिए । त्यसप्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला तीनै तहका सरकार एकै ठाउँमा उभिएर काम गर्न सफल भएको बताए ।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,” प्रधानमन्त्री शाहले भने ।
यसैबीच, प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू सुरुदेखि नै जोखिममा रहेको विषय सरकारले उठाउँदै आएको स्मरण गरे । अब बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै उनले प्रभावित क्षेत्रनजिकै सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।
नयाँ बस्ती निर्माण गर्दा प्रभावित नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा जीविकोपार्जनका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ । खेतीयोग्य जमिन संरक्षण गर्दै वैज्ञानिक र व्यवस्थित ढंगले बस्ती विकास गर्नुपर्नेमा उनले जाेड दिए ।




प्रतिक्रिया