काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले संविधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन् । कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको र सिङ्गो पार्टीको ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित भइसकेको उनले बताए ।
विशेष महाधिवेशनको प्रसङ्ग उल्लेख गर्दै उनले वृद्धाश्रम र आर्यघाट पुगुन्जेलसम्म पद ओगटिरहनुपर्छ भन्ने परिपाटी र सोचलाई कांग्रेसले चिरेको दाबी गरे । ‘गगन थापाको नेतृत्वमा रहेको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस छैन’, रसाइलीले भने, ‘यदि कसैले त्योभन्दा बाहिर अर्को कांग्रेसको कुरा गर्छ भने त्यो नेपाली कांग्रेसको विधानको मात्र नभई निर्वाचन आयोग र सर्वोच्च अदालतको समेत अवहेलना हो ।’ उनले आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउने दृढता व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक बनेका सहमहामन्त्री रसाइलीले रास्वपा कामले नभई अरूको आलोचना गरेर स्थापित भएको पार्टी भएको आरोप लगाए । हालैको बाढीपहिरोपछि सिर्जित विषम परिस्थितिमा सरकारको भूमिकालाई लिएर उनले कडा आलोचना गरे ।
‘अहिले बाढीपीडितहरूको अवस्था अत्यन्तै दर्दनाक छ, तर बालेन नेतृत्वको सरकार कहाँ छ ?’ उनले प्रश्न गरे, ‘प्रतिपक्षी दलहरू पूर्ण रूपमा साथ र सहयोग दिन तयार हुँदाहुँदै पनि यस्तो सङ्कटको बेला सर्वदलीय बैठकसम्म बोलाउन आवश्यक ठानिएन ।’
उनले सरकारको पूर्वतयारी र विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै थपे, ‘बाढी आउनुपूर्व सरकारले आम नागरिकलाई समयमै र प्रभावकारी रूपमा सूचना दिन सकेन । सुरुङ दुर्घटनाका बेला विदेशबाट दक्ष टोली ल्याएर समयमै उद्धार कार्य गरिएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।’
सरकार विपद्को समयमा सर्वसाधारणको उद्धार र राहतमा पूर्णरूपमा असफल भइसकेको दाबी गर्दै उनले भने, ‘यदि अहिलेको रास्वपा सहभागी सरकारको ठाउँमा कांग्रेस–एमालेको सरकार भएको भए बालेन र रविले सामाजिक सञ्जालमा कस्ता स्टाटस लेख्थे होला ?’
यसैबीच, नेता रसाइलीले बालेन सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् । प्रतिपक्षको पूर्ण सहयोग हुँदा पनि प्रधानमन्त्री बालेनले विपद्का बेला समेत सर्वदलीय बैठक नराखेर ठूलो कमजोरी गरेको उल्लेख गरे ।




प्रतिक्रिया