काठमाडाैँ। चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन राख्न तथा भण्डारण गर्न प्रतिबन्ध लगाउने भएको छ । सुरक्षालाई कारण देखाउँदै ल्याइएको नयाँ नियमले ड्रोन तथा त्यसका पार्टपुर्जा सहरभित्र ल्याउन र अनधिकृत रूपमा उडाउनसमेत रोक लगाउनेछ।
करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बेइजिङमा गत जुनमा एउटा सानो विमान गगनचुम्बी भवनमा ठोक्किँदा चालकको मृत्यु र अन्य १३ जना घाइते भएपछि हवाई सुरक्षाबारे चिन्ता बढेको थियो । नगर सरकारले राजधानीको सुरक्षा सुनिश्चित गर्न नयाँ व्यवस्था आवश्यक भएको जनाएको छ।
गत मेदेखि नै बेइजिङमा ड्रोन बिक्रीमा प्रतिबन्ध लगाइएको थियो भने ड्रोनका मालिकले आफ्ना उपकरण दर्ता गर्नुपर्ने व्यवस्था थियो। नयाँ नियमअनुसार ड्रोनधनीले नोभेम्बर १५ भित्र आफ्ना उपकरण नष्ट गर्न वा सहरबाहिर लैजानुपर्नेछ। सरकारले त्यसका लागि पुनःखरिद तथा निःशुल्क ढुवानी सुविधा उपलब्ध गराउने भएको छ।
आतङ्कवाद नियन्त्रण, कृषि, विपद् उद्धार र अनुसन्धानजस्ता विशेष प्रयोजनका लागि भने नयाँ व्यवस्थाअन्तर्गत छुट दिन सकिनेछ।




प्रतिक्रिया