इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक


काठमाडाैँ। इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।

इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, “मोहम्मद इस्लामी र उनको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गरेका थिए। यद्यपि, अमेरिकाको अवरोधका कारण उनी बाटोमा नै रोकिनुभयो।”

अवरोधपछि उनी राजधानी तेहरान फर्किएका छन्। उनी अस्ट्रियामा शुक्रबारसम्म चल्ने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) को वार्षिक साधारण सम्मेलनमा भाग लिन गएका थिए। उनले गत वर्षको सम्मेलनमा सहभागी भई इरानका तर्फबाट अस्थायी प्रतिनिधिका रूपमा सम्बोधन गरेका थिए। इरान आइएइएको सदस्य राष्ट्र हो। तेहरानले यस निर्णयको प्रतिक्रियास्वरूप अस्ट्रियाका चार्ज डे’अफेयर्सलाई सोधपुछ गरेको छ।

“इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डललाई भिसा जारी गर्न अस्ट्रिया सरकारको अस्वीकृति पूर्ण रूपमा अनुचित निर्णय हो,” विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एएफपी सहभागी तेहरानको प्रेस सम्मेलनमा भने।

“हामीलाई स्पष्ट छ, यो घटना अमेरिकी दबाबमा भएको हो,तर त्यसले अस्ट्रिया सरकारलाई जिम्मेवारीबाट मुक्त गर्दैन।” भियनाका एक कुटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा पुष्टि गरेको छ कि इस्लामीलाई अमेरिकाको दबाबका कारण अस्ट्रिया प्रवेश गर्नबाट रोक लगाइएको हो।

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानको परमाणु कार्यक्रम खतरा बनेको तर्क गर्दै इरानविरुद्ध युद्ध सुरु गरेका थिए। दशकौँदेखि पश्चिमी शक्तिहरूले इस्लामिक गणतन्त्रले परमाणु हतियार हासिल गर्न खोजेको आशङ्का गर्दै आएका छन्, जसलाई तेहरानले स्पष्ट रूपमा अस्वीकार गर्छ। रासस