राँझा (बाँके), ३० भदौ । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ ।
अतिक्रमित वनक्षेत्रमा करिब तीन हजार ९९० घरटहरा निर्माण भएका छन् । हालसम्म बाँके जिल्लामा ६०७ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिए ।
उनका अनुसार, अतिक्रमणको ठूलो हिस्सा विगतमा बाढीबाट विस्थापित भएका परिवारसँग जोडिएको छ । नरैनापुर गाउँपालिकामा मात्रै २७३ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ९७५ घरधुरी बसोबास गरिरहेका छन् । तत्कालीन समयमा बाढीपीडितलाई बस्न दिइएको क्षेत्रमा अतिक्रमण हटाउने प्रयास भए पनि पुनः बाढी आएपछि विस्थापित परिवार फर्केर बस्न थालेका हुन् ।
विसं २०६६ र त्यसपछि बाढीबाट प्रभावित परिवारलाई तत्कालीन अवस्थामा बसोबासका लागि दिइएको वनक्षेत्र व्यवस्थित हुन नसक्दा समस्या बढ्दै गएको छ । २०७४ सालको बाढीपछि पनि त्यस्ता परिवार पुनः वनक्षेत्रमा आएर बसोबास गर्न थालेका छन् ।
सूचना अधिकारी गुरुङका अनुसार, राप्तीसोनारी गाउँपालिकाको वडा नं ५, ६ र ७ मा २११ हेक्टर वनक्षेत्र अतिक्रमण गरी एक हजार ९२५ घरधुरीले बसोबास तथा खेतीपाती गर्दै आएका छन् । वडा नं २ मा ३२ दशमलव ९८ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ६०४ घरटहरा निर्माण गरिएको छ भने वडा नं १, ३ र ४ मा ४१ हेक्टर वनक्षेत्र अतिक्रमण गरी ७२ घरधुरी बसोबास गरिरहेको पाइएको छ ।
कोहलपुर नगरपालिका वडा नं ७, ८ र १२ तथा बैजनाथ गाउँपालिका–२ मा समेत वनक्षेत्र अतिक्रमण भएको छ । ती क्षेत्रमा २०४४/४५ देखि २०७१/७२ सम्म गैरबाढीपीडितका २० घरटहरा निर्माण भएपनि अहिले त्यहाँ नियमित बसोबास नरहेको र सात जनाले भने खेतीपाती गर्दै आएका छन् ।
त्यस्तै, डुडुवा गाउँपालिका–१ बाहेक अन्य वडा र नेपालगञ्जका विभिन्न क्षेत्रमा समेत वनक्षेत्रमा ३९४ घरटहरा निर्माण भएको गुरुङले जानकारी दिए । बाँकेमा भएको अधिकांश वन अतिक्रमण २०७५ सालअघि नै भएको हो । वन अतिक्रमण हटाउन चालु आर्थिक वर्षमा योजना बनाएर अगाडि बढ्ने डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गुरुङले बताए ।




प्रतिक्रिया