गाउँपालिका अध्यक्षकै यस्तो धन्दा: १० वटा बैंकिङ कसुर र करोडौँको ठगीमा वीरबल तामाङ पक्राउ


काठमाडौँ । सिंहदरबारको मुख्य गेटबाटै प्रहरी नियन्त्रणमा परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङको वित्तीय पृष्ठभूमि झनै गम्भीर देखिएको छ। पक्राउ परेपछि प्रहरीले उनको आपराधिक अभिलेख प्रणाली (सीआरएस) जाँच गर्दा उनीविरुद्ध १० वटा बैंकिङ कसुर तथा ठगीका मुद्दाहरू बाँकी रहेको खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङविरुद्ध साढे ५ करोड रुपैयाँभन्दा बढी रकम बराबरका बैंकिङ कसुर मुद्दा रहेका छन्। प्रहरीले उनीविरुद्धको ३ करोड ४ लाख रुपैयाँ बिगो कायम भएको एउटा मुख्य बैंकिङ कसुरको अनुसन्धान सकाएर मिसिल सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ।

तामाङविरुद्ध काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी परिसर तथा वृत्तहरूमा दर्ता भएका प्रमुख मुद्दाहरूको विवरण:

  • जिल्ला प्रहरी परिसर, काठमाडौँ: ३ करोड ४ लाख रुपैयाँको मुद्दा अनुसन्धान पूरा भई पेस। यसबाहेक १ करोड ३ लाख ३० हजार रुपैयाँको अर्को मुद्दा पेस भइसकेको छ भने ४८ लाख र ९५ लाख रुपैयाँ बिगो भएका थप दुई बैंकिङ कसुर मुद्दाको मिसिल पनि सरकारी वकिल कार्यालयमा पठाइसकिएको छ।
  • प्रहरी वृत्त, जनसेवा: ७५ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दा।
  • प्रहरी वृत्त, लैनचौर: १९ लाख ८० हजार रुपैयाँको मुद्दा।
  • प्रहरी वृत्त, दरबारमार्ग: ५ लाख २५ हजार रुपैयाँको मुद्दा।
  • जिल्ला प्रहरी परिसर, भक्तपुर: २ लाख रुपैयाँको मुद्दा।
  • प्रहरी वृत्त, महाराजगञ्ज: बैंकिङ कसुरको मुद्दा दर्ता भई अनुसन्धान भइरहेको।

जनप्रतिनिधिकै रूपमा बहाल रहेका तामाङ लामो समयदेखि चेक बाउन्स तथा वित्तीय ठगीका श्रृङ्खलाबद्ध घटनामा मुछिँदै आएका थिए। सोमबार सिंहदरबार छिर्ने क्रममा पक्राउ परेका उनीमाथि अब कानुनी प्रक्रियाबमोजिम अदालतमा मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।