आन्तरिक विवादले गर्मायो राप्रपा: कारबाहीविरुद्ध धुम्बाराहीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने उद्धव थापाको घोषणा


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कारबाहीमा परेका उद्धव थापाले पार्टीको निर्णयविरुद्ध केन्द्रीय कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भदौ ३१ गते बिहान ११ बजे राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा उपस्थित हुन सम्पूर्ण सरोकारवाला तथा राष्ट्रवादी साथीहरूलाई आह्वान गरेका छन्।

आफूमाथि अन्यायपूर्ण व्यवहार भएको दाबी गर्दै थापाले कारबाहीविरुद्ध साथ र सहयोगका लागि आग्रह गरेका छन्। उनको आह्वानमा लोकतान्त्रिक मूल्य, संगठनात्मक एकता तथा निर्वाचित जनप्रतिनिधिको सम्मान कायम राख्नुपर्ने र भेदभावपूर्ण व्यवहार तथा अन्यायपूर्ण कारबाही तत्काल फिर्ता लिन सम्बन्धित पक्षसँग माग गरिने उल्लेख छ।

यसअघि राप्रपाले चार जिल्लाका पार्टी कार्यसमितिलाई पत्राचार गर्दै कारबाहीमा परेका तथा कारबाही प्रक्रियामा रहेका व्यक्तिहरूलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न निर्देशन दिएको थियो। राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले काठमाडौं, चितवन, दोलखा र धादिङ जिल्ला कार्यसमितिलाई पत्र पठाउँदै त्यस्तो निर्देशन दिएका थिए।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका काठमाडौंका उद्धव थापा, राजेन्द्र प्रजापति र राजु विष्ट तथा चितवनका गिरबहादुर तामाङलाई पार्टीका कुनै पनि निकायमा समावेश नगर्न भनिएको थियो।

त्यस्तै, कारबाही प्रक्रियामा रहेका दोलखाकी मोनिका श्रेष्ठ, काठमाडौंका नुरज बज्राचार्य र धादिङका डम्बर तामाङलाई समेत पार्टीका कुनै पनि निकायमा समावेश नगर्न राप्रपाले निर्देशन दिएको थियो। बागमती प्रदेशमा सरकार गठनका क्रममा पार्टी केन्द्रको नीतिविपरीत नेकपा एमालेको नेतृत्वमा सरकार गठनलाई समर्थन गरेको आरोपमा केन्द्रले थापासहितका नेतामाथि कारबाही गरेको थियो।

राप्रपाको उक्त निर्णयको विरोधमा थापाले पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आह्वान गरेका हुन्। कारबाही फिर्ताको मागसहित कार्यालय घेराउ गर्ने तयारीले राप्रपाभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।