म्याग्दीको सडक देखेपछि ऋषि धमलाले गरे मन्त्री महावीर पुनलाई फोन


काठमाडौ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले म्याग्दीको सडकको दयनीय अवस्था देखेपछि सडक तत्काल स्तरोन्नति तथा कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार मुस्ताङ जाने क्रममा म्याग्दी पुगेका धमलाले सडकको अवस्था दयनीय देखेपछि स्थानीय नागरिकसँग अन्तरक्रिया गरेका थिए। सो क्रममा स्थानीयले वर्षौँदेखि सडक निर्माण तथा कालोपत्रे हुन नसक्दा आफूहरूले निरन्तर सास्ती भोग्नुपरेको गुनासो धमलासँग गरेका थिए।

स्थानीयको गुनासो सुनेपछि धमलाले सडक निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै मयाग्दी–१ बाट निर्वाचित स्वतन्त्र सांसद तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई फोनमार्फत ध्यानाकर्षण गराएका हुन्।

फोन संवादका क्रममा धमलाले सडकको अवस्था दयनीय रहँदा स्थानीयवासी र मुस्ताङ जाने यात्रुले समस्या भोगिरहेको जानकारी मन्त्री पुनलाई गरे।

जवाफमा मन्त्री पुनले उक्त सडकखण्ड राष्ट्रिय सडकअन्तर्गत पर्ने जानकारी गराउँदै वैकल्पिक रूपमा कालीगण्डकी करिडोर सडक निर्माणको काम सुरु हुन लागेको बताए।

धमलाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहेका पुनले आवश्यक पहल गरे सडक निर्माण अघि बढ्ने विश्वास स्थानीयमा रहेको सुनाए।

संवादको अन्त्यमा धमलाले उक्त सडकखण्ड तत्काल कालोपत्र गर्नका लागि मन्त्री पुनलाई विशेष अनुरोधसमेत गरे ।