काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत भएको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको हो ।
उनी बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस्तै, शुक्रबार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
शुक्रबार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन्।
शनिबार दिउँसो नै अर्थमन्त्री डा. वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया