काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा आयोजना हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा सञ्चालन गरिने जानकारी दिएको हो । प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि सुरु हुनेछ ।
राखेपका अनुसार प्रतियोगिताका खेल सुर्खेत, बाँकेको नेपालगञ्ज, बर्दिया, दैलेख, कालीकोट, सल्यान र रुकुम पश्चिममा आयोजना हुनेछन् ।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगिताका २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । नेपालगञ्ज, बर्दिया र सल्यानमा दुई–दुई खेल आयोजना गरिनेछ भने दैलेख, कालीकोट र रुकुम पश्चिममा एक–एक खेल हुनेछ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
मुख्य प्रतियोगिता मंसिर १६ गतेदेखि सुरु हुने भए पनि १० खेल उद्घाटन समारोहअघि नै सञ्चालन गरिने राखेपले जनाएको छ ।




प्रतिक्रिया