कांग्रेसको वडा अधिवेशनको तयारी पूरा


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत असोज ३ र ४ गतेदेखि सुरु हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनसहित महाधिवेशनअन्तर्गतका अन्य अधिवेशनको तयारीसमेत पूरा भएको जनाएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र सभापति र पालिका सभापतिसहित ६ हजार ५२८ प्रतिनिधि चयन हुने अनुमान गरिएको छ ।

विदेशीस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थासमेतको संख्या जोड्दा करिब ७ हजार महाधिवेशन प्रतिनिधि रहनसक्ने उनले बताए ।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही स्थानबाहेक कांग्रेसका ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न आवश्यक महाधिवेशन प्रतिनिधि वडा, क्षेत्र र प्रदेशको निर्वाचन प्रक्रियाबाट तयार हुने भएकाले सोही आधारमा निर्वाचन प्रक्रिया अघि बढाइएको बताए ।