तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान,को-को छन् सहभागी ?


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

भ्रमणक्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यबारे छलफल हुने बताइएको छ ।

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसैगरी, भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी सहभागी हुनेछन्। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता तय गरिएको छ भने साँझ साढे ७ बजे भारत व्यापार सम्वर्दधन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

त्यसपछि शनिबार बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागिता जनाएर उनी शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यक्रम छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदुताबास नयाँदिल्लीका उपनियोग प्रमुख डा.सुरेन्द्र थापा नेपालीलगायतका छन् ।