काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यलेले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर सिंहदरबारको गेटअगाडि गरिएको प्रदर्शनप्रति आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा महामन्त्री आचार्यले उक्त विषय उठाउँदै सांसदले आफ्नो धारणा राखेकै आधारमा धम्की र दबाब दिने गतिविधि स्वीकार्य नहुने बताएका हुन्।
बैठकमा बोल्ने क्रममा आचार्यले फ्रान्सेली लेखक तथा दार्शनिक भोल्तेयरको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी भनाइ स्मरण गर्दै लोकतन्त्रमा फरक मत राख्ने अधिकार सुरक्षित हुनुपर्ने धारणा राखे। नेपालको संविधानले समेत अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उनले उल्लेख गरे।
आचार्यले फरक धारणा राखेकै कारण सांसदहरूलाई सार्वजनिक रूपमा लतार्ने, घिसार्ने, घर जलाउने वा रक्तपात गर्ने जस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताए। ‘फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुला सिंहदरबारकै गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो’, आचार्यले भने ।
यद्यपि, उनले आफ्नो सम्बोधनमा सचेतक धितालको नाम भने उल्लेख गरेनन्। केही दिनअघि धितालको अभिव्यक्तिलाई लिएर केही व्यक्तिले सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गरेका थिए।
भदौ २३ गते पुरानो संसद् भवन परिसरमा आयोजित ‘जेनजी शहीद प्रथम स्मृति दिवस’ कार्यक्रमबारे सचेतक धितालले सार्वजनिक रूपमा टिप्पणी गरेकी थिइन्। उनले शहीद परिवार तथा आन्दोलनका घाइतेको पीडा सम्बोधन नगरी भव्य मञ्च र धर्मगुरुको सहभागितासहित कार्यक्रम आयोजना गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाएकी थिइन्।
जेनजीको आवाज उठाउने तथा सरकारका कामकारबाहीमाथि प्रश्न गर्नेहरूले समेत कार्यक्रमको स्वरूपबारे हस्तक्षेप गर्न नसकेको भन्दै धितालले असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनको यही अभिव्यक्तिलाई लिएर केही व्यक्तिले सिंहदरबारअगाडि प्रदर्शन गरेका थिए।
उक्त विषय प्रतिनिधिसभामा उठाउँदै महामन्त्री आचार्यले सांसदलाई धम्की दिनेहरूमाथि कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरिएको जानकारी दिए।
उनले गृहमन्त्री र प्रधानमन्त्री कार्यालयलाई समेत यस विषयमा ध्यानाकर्षण गराइसकेको बताए ।




प्रतिक्रिया