सुकुमवासीलाई वैकल्पिक आवासबिना हटाउन खोजिएको भन्दै कुलमान घिसिङको आपत्ति


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भई हाल मध्यपुर थिमी–बोडेस्थित तालिम केन्द्रमा आश्रय लिइरहेका परिवारलाई उक्त स्थान खाली गर्न दिइएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको घिसिङले बताएका छन् ।

उनले जाडोको कठ्याङ्ग्रिँदो मौसममा सुरक्षित आवासको सुनिश्चितता नगरी सुकुमवासी परिवारलाई पुनः विस्थापित गर्नु उचित नहुने उल्लेख गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई बेवास्ता गरेर गरिने निर्णयले उनीहरूलाई थप जोखिममा पार्न सक्ने उनको भनाइ छ ।

भूमिहीन तथा सुकुमवासी समस्याको समाधान जबर्जस्ती विस्थापन नभई उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको घिसिङले स्पष्ट पारेका छन् ।

उनले वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय तत्काल स्थगित गर्न सरकारसँग माग गरेका छन् । साथै प्रभावित परिवारका आधारभूत आवश्यकता सुनिश्चित गर्दै दीर्घकालीन र न्यायपूर्ण समाधान खोज्न पनि उनले आग्रह गरेका छन् ।

‘नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो,’ घिसिङले जारी गरेको अपिलमा उल्लेख छ ।