काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँएसँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वमा नेताहरु फर्किने क्रम तिव्र रुपमा चलेकाे छ । केही समयअघिसम्म आफ्नो प्रभावशाली समूहसहित पार्टी राजनीतिमा निर्णायक रहेका पूर्वसभापति शेरबहादुर देउवा अहिले पार्टीबाट मात्रै नभएर आफ्नै समूहभित्र क्रमशः एक्लिँदै गएका छन्।
विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति बनेपछि सुरु भएको विवाद महाधिवेशनको मिति र वैधानिकतासम्म आइपुग्दा कांग्रेस दुई धारमा विभाजित छ। थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी अघि बढाएको छ भने देउवा पक्षले त्यसलाई अस्वीकार गर्दै मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
तर समानान्तर महाधिवेशनको तयारीमा लागेका देउवालाई आफ्नै समूहका प्रभावशाली नेताहरूले साथ छाड्न थालेपछि उनको राजनीतिक आधार थप कमजोर देखिएको छ। आज गगन थापा नेतृत्वको सानेपामा भएकाे केन्द्रिय समिति बैठकमा देउवाका विश्वासपात्रका रुपमा परिचित ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी उपाध्याय ‘डिना’, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डेसहितका ५२ जना १४औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित नेताहरु सहभागि भएका छन् ।
विशेषगरी देउवा समूहमा लामो समय प्रभावशाली भूमिका निर्वाह गरेका नेताहरू नै थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएसँगै देउवा समुह थप कमजाेर भएकाे छ । देउवा पक्षमा रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू पनि थापा पक्षले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि अधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगिसकेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमै पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको छ। देउवाले केही दिन अघि एक अपिल जारी गर्दै आफूलाई पदको लोभ नभएको उल्लेख गरे पनि पार्टी नेतृत्व हस्तान्तरण गर्ने वैधानिक, राजनीतिक तथा नैतिक दायित्व आफूमा रहेको दाबी गरेका छन्।
यता गगन थापा नेतृत्वको पक्षले विशेष महाधिवेशनबाट आफूहरू निर्वाचित भइसकेको र त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको तथा सर्वोच्च अदालतको संयुक्त इजलासबाट समेत आयोगको निर्णय सदर भएको आधारमा महाधिवेशन प्रक्रिया अघि बढाएको बताउँदै आएको छ।
विवाद समाधानका लागि देउवा पक्षले उठाएका विभिन्न मागमध्ये तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको समायोजनलगायतका विषयमा थापा पक्षले पछिल्लो समय लचकता देखाएको छ। विशेष महाधिवेशनअघि कायम रहेका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गरेर महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिएको छ।
यही निर्णयपछि देउवा पक्षका धेरै नेता आज सानेपा पुगेका हुन् ।
देउवालाई थापाको निम्तो
बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले असोज १६ गते हुने महाधिवेशनको उद्घाटनमा सहभागी हुन पूर्व सभापति शेर बहादुर देउवालाई आग्रह गरे। उनले पूर्वसभापतिले महाधिवेशन उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने बताए । ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ,’ थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’
यसैबीच, देउवाका विश्वासपात्र मानिएका नेताहरू एकपछि अर्को गर्दै सानेपा पुग्न थालेपछि देउवा आफ्नै समूहभित्रबाटै एक्लिँदै गएकाे निष्कर्ष राजनीतिक विश्लेषहरुले निकालेका छन् ।




प्रतिक्रिया