काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले जेनजी शहीद परिवार र घाइतेहरूको अपमान स्वीकार्य नहुने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले शहीद र घाइतेहरूको योगदानलाई बिर्सिएर कसैले पनि अपमान गर्न नहुनेमा जोड दिएका छन् ।
विगत ३५ वर्षको कुशासन, विकासको अभाव र व्याप्त बेरोजगारीविरुद्ध जेनजी युवाहरूले ज्यानको बाजी लगाएर आन्दोलन गरेको स्मरण गर्दै धमलाले भने, “युवाहरू त्यसै सडकमा उत्रिएका थिएनन् । देशबाट भ्रष्टाचारीलाई कारबाही, नातावाद र कृपावादको अन्त्यका लागि जेनजी आन्दोलन भएको हो ।” बालेन सरकारले शहीद परिवारलाई सम्मान र रोजगारी दिने आश्वासन दिए पनि सरकारी नियुक्तिहरूमा घाइते र शहीदका परिवारलाई पूर्ण रूपमा उपेक्षा गरिएको उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै धमलाले शहीद र घाइतेको मानमर्दन नगर्न चेतावनी दिए । “अभिव्यक्ति स्वतन्त्रताको नाममा जसले जहाँ पनि बोल्न त पाउँछ, तर विपिन आचार्यले संसद्मा बोलेको कुराले चित्त बुझेको छैन,” धमलाले भने, “भोलि रास्वपाको सभापति वा मन्त्री बन्नुहोला, तर घाइते र शहीदको अपमान गरेर तपाईंको कद बढ्दैन।”
जेनजी आन्दोलनका क्रममा गिरफ्तार गरिएका सयौँ युवा अझै जेलमै रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरे । “जसले रास्वपालाई सरकारमा पुर्याए, तिनै युवा अझै जेलमा छन् । यदि कानुन बाधक छ भने दुई तिहाइको सरकारले कानुन संशोधन गर्न सक्छ, यहाँ इच्छाशक्तिको खाँचो छ,” उनले थपे ।
शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उचित उपचारको मागसहित झापामा भइरहेको आन्दोलनप्रति उनले ऐक्यबद्धता जनाए । जेनजी शहीद स्मृति दिवसको कार्यक्रमपछि शहीद परिवार र घाइतेहरू खुसी हुन नसकेको भन्दै धमलाले शहीद, उनीहरूका परिवार र घाइतेहरूलाई होच्याउने कार्य आफूलाई कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पारे ।




प्रतिक्रिया