म्याग्दीको बेनी–जोमसोम सडक स्तरोन्नति गर्न माग गर्दै धमलाले बुझाए मन्त्री पुनलाई ज्ञापनपत्र


काठमाडौँ । केही दिनअघि मुस्ताङ जाने क्रममा म्याग्दीको सडकको दयनीय अवस्था देखेपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाएका छन् ।

आज मन्त्रालयमै पुगेर धमला नेतृत्वको अभियान टिमले म्याग्दीको बेनी–जोमसोम–कोरला सडकखण्डको दीर्घकालीन स्तरोन्नति, पहिरो नियन्त्रण तथा सुरक्षित आवागमनको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अभियानको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा म्याग्दी हुँदै मुस्ताङ जोड्ने उक्त सडकखण्डलाई व्यवस्थित र सुरक्षित बनाउन तत्काल आवश्यक काम अघि बढाउन माग गरिएको छ। उक्त सडकखण्ड मन्त्री पुनकै निर्वाचन क्षेत्र पनि हो । गत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा पुन म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अभियानले वर्षायाममा पहिरो तथा भू–क्षयका कारण सडक अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्न जोखिमयुक्त क्षेत्रमा स्थायी पहिरो नियन्त्रणका संरचना निर्माण गर्नुपर्ने, सडक स्तरोन्नतिको कामलाई तीव्रता दिनुपर्ने तथा गुणस्तरीय रूपमा निर्धारित समयभित्र काम सम्पन्न गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, मनसुनका समयमा सडक अवरुद्ध हुँदा तत्काल सडक खुलाउन द्रुत विपद् प्रतिक्रिया टोली (Emergency Response Team) को व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आवश्यक डोजर, एक्स्काभेटरलगायतका उपकरण र जनशक्तिलाई २४ घण्टा तयारी अवस्थामा राख्नुपर्ने अभियानको माग छ।

ज्ञापनपत्रमा सिकारी, बेगखोला, रुप्से, तातोपानीलगायत जोखिमयुक्त क्षेत्रमा सडक संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नाली र कल्भर्टको उचित व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ।

यसअघि मंगलबार मुस्ताङ जाने क्रममा म्याग्दीको सडकको दयनीय अवस्था प्रत्यक्ष देखेपछि धमलाले स्थानीयसँग अन्तरक्रिया गरेका थिए। स्थानीयले वर्षौँदेखि सडक निर्माण तथा कालोपत्रे हुन नसक्दा आफूहरूले सास्ती भोग्दै आएको गुनासो गरेपछि धमलाले सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसपछि उनले मन्त्री महावीर पुनलाई फोनमार्फत सडकको अवस्थाबारे जानकारी गराउँदै तत्काल स्तरोन्नति तथा कालोपत्रेका लागि ध्यानाकर्षण गराएका थिए।
धमलाले उक्त सडक निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखेर यथाशीघ्र अघि बढाउन मन्त्री पुनसँग आग्रह गरेका छन्