काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन कूटनीतिक तथा द्विपक्षीय संवादलाई तीव्रता दिएका छन्। बिहीबार नयाँ दिल्ली पुगेलगत्तै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका वाग्लेले दोस्रो दिन उच्चस्तरीय छलफल र आर्थिक सहकार्यका विषयमा संवाद अघि बढाएका हुन्।
भ्रमणको दोस्रो दिन शुक्रबार बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वविदेशसचिव श्याम शरणद्वारा आयोजित उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भई नेपाल–भारत सम्बन्ध, आर्थिक परिदृश्य र द्विपक्षीय हितका विषयमा आफ्नो धारणा प्रस्तुत गरेको जनाइएको छ ।
यसै क्रममा आज साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग महत्वपूर्ण कूटनीतिक भेटवार्ता गर्नेछन्।
कूटनीतिक संवादबाहेक अर्थमन्त्री वाग्ले आजै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफद्वारा आयोजित बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। भारत मण्डपममा आयोजना हुने सो कार्यक्रममा नेपाल–भारतबीचको आर्थिक सहकार्य, व्यापार अभिवृद्धि र लगानीका विविध आयामबारे उच्चस्तरीय छलफल हुने जनाइएको छ।
अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूसँगको अन्तर्क्रिया र अन्य उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया