नयाँ दिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपाललाई भारतीय पर्यटकका लागि सहज, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न दुवै देशबीच सहकार्य विस्तार आवश्यक रहेको बताएका हुन् ।
नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा बुधबार साँझ भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा मन्त्री पौडेलले नेपाल-भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखेका हुन् ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावत, उत्तराखण्डका संस्कृति तथा पर्यटनमन्त्री सतपाल महाराजलगायत दुवै देशका सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन, यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ । पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न स क्छ। नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।”

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने उल्लेख गरे । साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिएका छन् ।
कार्यक्रमका अवसरमा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन् । भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको बताइएको छ । हवाई सम्पर्क विस्तारलाई पर्यटन आवागमन वृद्धि गर्ने महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।
कार्यक्रममा भारतका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले नेपाल र भारतबीचको पर्यटन सम्बन्ध तथा साझा सांस्कृतिक सम्पदाको महत्व उजागर गरे । उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महाराजले पनि नेपाल र उत्तराखण्डबीच पर्यटन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले सहभागीहरूलाई स्वागत गरेका थिए । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसहित भुटान, पोल्यान्ड र भियतनामका कूटनीतिक नियोगका प्रतिनिधिहरूले समेत ‘नेपाल कलिङ’ अभियानप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेका थिए ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अभियानमार्फत भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि पुनः आमन्त्रण गर्दै नेपाल सुरक्षित, खुला, संकटसँग जुधेर अघि बढिरहेको र पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिएका छन् । उनले आफ्नो प्रस्तुतीकरणमा नेपालका धार्मिक, आध्यात्मिक, साहसिक, सांस्कृतिक, प्राकृतिक, वेलनेस तथा अनुभवमा आधारित पर्यटनका विविध सम्भावना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भारतीय टुर अपरेटर संघ (आईएटीओ) र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत दुवै देशका पर्यटन क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले निजी क्षेत्रबीच सहकार्य र नयाँ पर्यटन अवसर सिर्जना गर्ने सम्भावनालाई थप बल पुर्याएको छ । नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धलाई पर्यटनमार्फत आर्थिक तथा सामाजिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजित यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्य विस्तारका लागि थप आधार तयार गरेको छ ।




प्रतिक्रिया