काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविक रूपमा नै नागरिकको जीवनमा जोड्नुपर्ने बताए ।
यसका लागि सरकार पारदर्शी, जनउत्तरदायी र नागरिक सर्वोच्चताको रक्षामा प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।”संविधान जारी भएको ११ वर्ष भइसक्यो । अब संविधानलाई भाषामा होइन नागरिकको जीवनमा उतार्ने संकल्प गरौँ । संविधानले कबुल गरेका विषयहरू नागरिकले अनुभूत गर्ने ढंगबाट कार्यान्वयन गरौँ,” राष्ट्रपति पौडेलले भने ।
संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा सङ्घीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्ने उनले बताए । संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे । सरकार जनताको मालिक नभई ’सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महसुस गर्न नपर्ने वातावरण बन्नुपर्ने बताए ।
संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न तीनै तहका सरकारलाई उनको आग्रह छ ।




प्रतिक्रिया