काठमाडौँ । भारत भ्रमण सकेर फर्किएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उच्चस्तरीय राजनीतिक संवाददेखि भारतीय कर्पोरेट जगत्सम्म नेपालमा लगानी र सहयोगका नयाँ सम्भावनाबारे छलफल गरेका छन्।
तीनदिने भारत भ्रमण पूरा गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार स्वदेश फर्किए। ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नयाँ दिल्ली पुगेका वाग्लेको यो भ्रमण मुख्यतः द्विपक्षीय आर्थिक कूटनीति, बाढीपछिको पुनर्निर्माण र भारतीय लगानी आकर्षित गर्ने ध्याउन्नमा केन्द्रित रह्यो। स्वदेश फर्किएपछि भ्रमणलाई फलदायी र महत्त्वपूर्ण भन्दै उनले दुई देशबीचको आर्थिक र कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा थपिएको बताएका छन्।
दिल्ली बसाइका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग बेग्लाबेग्लै उच्चस्तरीय भेटवार्ता गरे। भेटमा नेपाल–भारत आर्थिक सहकार्य, लगानी अभिवृद्धि, ऊर्जा विकास र क्षेत्रीय कनेक्टिभिटीबारे गहन छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
विशेषगरी, हालै भोटेकोशीमा आएको भीषण बाढीपछि उत्पन्न सङ्कट र पुनर्निर्माणमा भारतीय सहयोगबारे मन्त्री वाग्लेले प्राथमिकताका साथ कुरा उठाए। बाढीलगत्तै भारतले पुर्याएको उद्धार र राहत सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्दै उनले अबको पुनर्निर्माण अभियानमा थप सहकार्यका लागि औपचारिक प्रस्तावसमेत अघि सारेका छन्।
नयाँ दिल्लीमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले भारतीय कर्पोरेट जगत्लाई नेपालमा पुँजी र प्रविधि भित्र्याउन खुला आह्वान गरे।
नेपालमा लगानीका लागि उपयुक्त र अनुकूल वातावरण बन्दै गएको दाबी गर्दै उनले भने, ‘नेपाललाई भारतीय व्यवसायीले आफ्नो उत्पादन बेच्ने बजारका रूपमा मात्र हेर्नु हुँदैन। लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय आपूर्ति शृंखला (सप्लाई चेन) मा नेपाललाई भरपर्दो साझेदार बनाउन आवश्यक छ।’
आफ्नो सम्बोधनका क्रममा उनले नेपालका उदीयमान क्षेत्रहरू डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा, कृषि प्रशोधन, पर्यटन, उत्पादनमूलक उद्योग र स्वास्थ्य सेवामा लगानीका प्रचुर अवसर रहेको औँल्याएका थिए।
उक्त अन्तरक्रियामा भारतीय उद्योग जगत्का प्रमुख हस्तीहरूको बाक्लो उपस्थिति थियो। सिआईआईका पूर्वअध्यक्ष एवं आईटीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीव पुरी, मेदान्ताका अध्यक्ष डा. नरेश त्रेहान, जेबिएम अटोका निशान्त आर्य, एनएचपीसीका भूपेन्द्र गुप्ता र वरुण बेभरेजेजका रविकान्त जयपुरियालगायतका उद्योगी–व्यवसायी कार्यक्रममा सहभागी थिए।
यस्तै आरआईटीइएसका राहुल मिथल, ज्याक्सन डिस्ट्रीब्युटेड इनर्जीका सुधांशु पोखरियाल, जीएमआर इनर्जीका मनोजकुमार दीक्षित, डाबर इन्डियाका अभिषेक जुगरान, कोका–कोला इन्डियाकी देवयानी राणा र पञ्जाब नेसनल बैंकका एम. परमासिवम जस्ता कर्पोरेट नेतृत्वले पनि नेपालमा व्यावसायिक सहकार्य र लगानीका दायराबारे चासो व्यक्त गरेका थिए।
आर्थिक र व्यावसायिक एजेन्डाबाहेक मन्त्री वाग्लेको दिल्ली भ्रमण बहुआयामिक रह्यो। भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको विशेष कूटनीतिक संवादमा सहभागी हुँदै उनले दुवै देशका साझा हित र कूटनीतिक विषयमा धारणा राखे।
यस्तै, प्रतिष्ठित दिल्ली स्कुल अफ इकोनोमिक्समा आयोजित प्राज्ञिक छलफलमा भाग लिनुका साथै नयाँ दिल्लीस्थित नेपाली दूतावासद्वारा आयोजित संविधान दिवस समारोहमा पनि उनी सरिक भए। भ्रमणकै क्रममा उनले प्रवासी नेपाली प्रतिनिधिमण्डलसँग छुट्टै भेट गरी उनीहरूका सरोकार, समस्या र मातृभूमिको विकासमा खेल्न सक्ने भूमिकाबारे विचारविमर्श गरेका थिए।




प्रतिक्रिया