एमाले कार्यदलको मध्यमार्गी बाटोः तीन प्रतिवेदन मिलाएर एउटै दस्तावेज बनाइने


काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेतृत्व पुनर्गठनको पेचिलो मुद्दामा मध्यमार्गी बाटो पहिल्याउँदै तीन अलग–अलग प्रतिवेदनलाई एकीकृत गरी साझा दस्तावेज बनाउने निर्णय गरेको छ

यसअघि कार्यदलभित्र नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले छुट्टाछुट्टै प्रतिवेदन मस्यौदा तयार गरेका थिए। चुनावी नतिजालाई आधार बनाएर शीर्ष नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन भन्ने विषय कार्यदलभित्र निकै पेचिलो बनेको थियो।

आइतबार बसेको कार्यदलको बैठकले भने ती तीनै मस्यौदालाई परिमार्जन गर्दै एउटै साझा प्रतिवेदन बनाएर पार्टी सचिवालयमा पठाउने निर्णय गरेको हो। पुनर्गठनसम्बन्धी विवादित विषयलाई कार्यदलले सोझै निर्णय नगरी सचिवालयको जिम्मा छाड्ने भएको छ।

यो सहमतिपश्चात् एमालेको केन्द्रीय सचिवालय बैठक आजै दिउँसो ३ बजेपछि बस्दैछ। उक्त बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका मुख्य एजेन्डाहरू तय गर्नेछ।

यसैबीच, एमाले सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन् ।