‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ : अध्यक्ष ओली


काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्।

एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफूहरूसँग प्रश्न गर्नुअघि अनुमति लिनुपर्ने बताएका हुन्।

उनले प्रश्न सोध्ने क्रममा माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया लिन खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यसो नगर्न सञ्चारकर्मीलाई आग्रह गरे।

ओलीले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास भन्दै प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्ने–नमिल्नेबारे अनुमति लिने र कुराकानी वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गरे।

“दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईँसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ,” ओलीले भने, “प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईँले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ।”

उनले सञ्चारकर्मीलाई आफूले प्रश्न गर्न नचाहेको अवस्थामा समेत माइक अगाडि ल्याएर प्रतिक्रिया लिन खोज्ने शैलीप्रति लक्षित गर्दै भने, “तपाईँहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्।”

ओलीले सञ्चारकर्मीले प्रश्न गर्दा सम्बन्धित व्यक्तिको सहमति र पत्रकारिताको मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।