बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित

File photo

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा एकतर्फी तथा समय तोकेर सवारी सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशको सङ्खुवासभामा पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान पहिरो गएपछि बन्द भएको सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

बागमती प्रदेशमा पनि बाढी तथा पहिरोका कारण विभिन्न सडकमा आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । काभ्रेको वि.पि. राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समय निर्धारण गरिएको छ । असोज १६ गतेदेखि लागू गरिएको व्यवस्थाअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहनेछ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारीलाई सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।

रसुवाका मुख्य सडकहरू पनि बाढीका कारण अवरुद्ध रहेको प्रहरीको विवरणमा उल्लेख छ । त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

पसाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डमा बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ ।

यता धादिङतर्फ पृथ्वीराजमार्गमा भने पहिरो हटाएपछि यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाडखोला र शीतलबजारमा गएको पहिरो हटाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध सडकखण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग तथा नेपाल प्रहरीको टोली परिचालन भइरहेको छ ।